
जनमत पार्टीका अध्यक्ष तथा सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार चन्द्रकान्त (सिके) राउतसँग निर्वाचन आयोगले स्पष्टीकरण माग गरेको छ।
निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै परेको उजुरीका आधारमा आयोगले राउतलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।
आयोगका अनुसार उजुरीमा राउतले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सार्वजनिक स्थान (चौबाटो) मा निर्वाचन चिह्न र झण्डासहितको तोरण बनाएर प्रदर्शन गरेको उल्लेख छ, जुन आचारसंहिताविपरीत भएको दाबी गरिएको छ।
निर्वाचन आयोगले सो विषयमा स्पष्टिकरण दिन आग्रह गर्दै तोकिएको समयभित्र जवाफ नआए कानुनअनुसार प्रक्रिया अघि बढाइने जनाएको छ।