काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको स्वास्थ्य अवस्थाबारे प्रेस विज्ञप्ति जारी गरेको छ।
विज्ञप्तिअनुसार लामिछाने २०८२ माघ ५ गते जनकपुरको कार्यक्रममा सहभागी हुने क्रममा अचानक बेहोस भई ढलेका थिए। औषधि सेवन गर्दा पनि सुधार नआएपछि उनलाई सेल्युलाइटिस भएको देखिएको अस्पतालले जनाएको छ।
उक्त समस्याका कारण २०८२ माघ १३ गते शिक्षण अस्पतालको हाडजोर्नी विभाग अन्तर्गत भर्ना गरी नशाबाट (IV) एन्टिबायोटिकमार्फत उपचार भइरहेको अस्पतालले जनाएको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचार जारी रहेको जानकारी दिइएको छ।
अस्पतालले जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा देखिएका केही फोटोहरू उक्त अस्पतालको नभएको समेत स्पष्ट पारेको छ।
शिक्षण अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईँले जारी गरेको विज्ञप्तिमा लामिछानेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
