काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार माघ १२ गते बिहानदेखि मंगलबार बिहानसम्म देशभर विपद्सम्बन्धी २० वटा घटना दर्ता भएका छन्।
प्राधिकरणका विवरणअनुसार ती घटनामध्ये १६ वटा आगलागीका रहेका छन् भने चार वटा जनावरको आक्रमणसम्बन्धी घटना भएका छन्।
उक्त अवधिमा विपद्का कारण दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। साथै, विभिन्न घटनाबाट करिब २५ लाख ६४ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ।
आगलागीका घटना सिरहामा तीन वटा, मोरङ, बारा र रौतहटमा दुई–दुई वटा तथा सुनसरी, भोजपुर, सर्लाही, मकवानपुर, लमजुङ, प्यूठान र बझाङमा एक–एक वटा भएको उल्लेख गरिएको छ।
त्यसैगरी, सुनसरी, सप्तरी, चितवन र दैलेख जिल्लामा जनावरको आक्रमणसम्बन्धी घटना भएका छन्।
प्राधिकरणका अनुसार अधिकांश आगलागी असावधानीका कारण भएको पाइएको छ। सुक्खा मौसमका कारण आगलागीको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ।