काठमाडौँ । यातायात व्यवस्था कार्यालय चाबहिलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्दै कार्यालय प्रमुखसहित विभिन्न व्यक्तिका मोबाइल फोन र कागजातहरू आयोगले बरामद गरेको छ ।
आयोगको टोलीले आज उक्त सामानहरू बरामद गरेको विज्ञप्तिमार्फत जनाएको छ । अख्तियारले दिएको जानकारीअनुसार यातायात व्यवस्था कार्यालय चाबहिलमा कार्यरत कार्यालय प्रमुखसहित अन्य कर्मचारीहरूले बिचौलियामार्फत सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा अनुतीर्ण भएका सेवाग्राहीहरूलाई खोजी गरी प्रत्येक व्यक्तिसँग ५ हजारदेखि १० हजार रुपैयाँसम्म रकम संकलन गर्ने गरेका थिए ।
उनीहरूले अनुतीर्ण भएको ३ महिना अवधि नपुग्दै पुनः आवेदन दर्ता गराई लिखित परीक्षामा सहभागी गराएर भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरी र सूचनाको आधारमा आयोगको टंगालबाट खटिएको टोलीले छानबिन सुरु गरेको थियो ।
यातायात व्यवस्था कार्यालय चाबहिल, काठमाडौंका कार्यालय प्रमुख अधिकृत पेशल कुमार पोखरेलसहित सोही कार्यालयका १७ जना कर्मचारीहरूका २५ थान मोबाइल फोन बरामद गरिएका छन् ।