काठमाडौं । टेरामक्स भ्रष्टाचार प्रकरणसम्बन्धी मुद्दामा विशेष अदालतले प्राविधिक पक्षको परीक्षणका लागि विज्ञ टोली गठन गर्ने र थप कागजात झिकाउने आदेश दिएको छ।
पूर्वमन्त्री मोहन बस्नेतसहितका प्रतिवादी रहेको उक्त मुद्दामा मंगलबार भएको सुनुवाइपछि विशेष अदालतले दुई प्रकारका कागजात माग गर्ने तथा प्रणालीको गुणस्तर परीक्षणका लागि विज्ञ समूह गठन गर्ने निर्णय गरेको हो।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले २०८० पुस १२ गते संसद्को सार्वजनिक लेखा समितिले नेपाल दूरसञ्चार प्राधिकरणलाई टेरामक्स खरिद प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिएको सम्बन्धित पत्र झिकाउन आदेश दिएको छ।
त्यसैगरी, जडान भइसकेको टेरामक्स प्रणाली सम्झौताअनुसार गुणस्तरयुक्त छ वा छैन भन्ने विषयको प्राविधिक परीक्षण गर्न विज्ञ समूह गठन गरिएको छ। उक्त समूहको संयोजक नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ इन्जिनियर रहनेछन्।
विज्ञ समूहमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अधिकारीलाई समेत समावेश गरिएको छ। अदालतले उक्त समूहलाई प्रणालीको प्राविधिक मूल्याङ्कन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएको छ।