काठमाडौं । सामाजिक सञ्जालमार्फत आधारहीन अभिव्यक्ति र अपमानजनक सामग्री सार्वजनिक गरेको आरोपमा प्रहरीले युवराज सफललाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सफलले महान्यायाधिवक्ताको कार्यालय तथा महान्यायाधिवक्तासम्बन्धी विषयमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नकारात्मक तथा अपशब्दयुक्त सामग्री सार्वजनिक गरेको पाइएको छ। उनले झुट्टा विवरण समेटिएका भिडियो सामग्री तयार गरी अन्तर्वार्तासमेत दिएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार ती अन्तर्वार्तामा सफलले विभिन्न मुद्दामा रकम लेनदेन गरी मुद्दा फिर्ता गरिने गरेको भन्ने आरोप लगाएका थिए, जुन तथ्यहीन रहेको बताइएको छ। यसरी झुटा आरोप लगाई मानहानि हुने सामग्री सार्वजनिक गरेको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।