काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा कार्यरत तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले आचार्यले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ बराबरको बिगो मागदाबी सहित आरोपपत्र दर्ता गरेको जनाएको छ।
आयोगका अनुसार आचार्यले गैरकानुनी आम्दानीबाट आफ्नी श्रीमती लिली सुवेदीको नाममा समेत सम्पत्ति खरिद गरेको पाइएको छ। उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि सुवेदीलाई पनि प्रतिवादी बनाइएको छ।
अख्तियारका अनुसार आचार्य र उनका परिवारका सदस्यहरूले वैधानिक स्रोतबाट ३ करोड ५१ लाख ८ हजार २१० रुपैयाँ आम्दानी गरेको देखिए पनि खर्च, बैंक मौज्दात र सम्पत्तिको मूल्यांकन गर्दा सोभन्दा बढी ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ बराबरको सम्पत्ति अस्वाभाविक रूपमा देखिएको छ।
आय र खर्चको स्रोत स्पष्ट हुन नसकेको भन्दै आयोगले आचार्य र सुवेदी दुवैविरुद्ध प्रचलित कानुनअनुसार मुद्दा दायर गरिएको जनाएको छ।