काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण गरे पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले प्रदर्शन गरेका छन्।
मंगलबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवाहरूले भाषा परीक्षा पास गरेपछि पनि रोस्टरमा एक वर्षभन्दा बढी समय नाम रहँदा समेत रोजगारदाताको छनोटमा नपरेको गुनासो गरेका छन्। यसअघि उनीहरूले ग्वार्कोस्थित ईपीएस कार्यालयमा समेत विरोध जनाएका थिए।
ईपीएस प्रणालीअनुसार भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेपछि मात्र कोरिया जान पाइँदैन। रोजगारदाताको छनोटमा परेपछि मात्रै प्रक्रिया अघि बढ्छ। तर, रोस्टरमा नाम दुई वर्षसम्म रहेर पनि छनोटमा नपरेको अवस्थामा नाम स्वतः हटाइने व्यवस्था छ। त्यसपछि पुनः भाषा परीक्षा दिएर पास भई नयाँ रोस्टरमा समावेश हुनुपर्ने हुन्छ।
यही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै युवाहरूले रोस्टर अवधि बढाउनुपर्ने र भाषा पास गरेपछि रोजगारी सुनिश्चित हुनुपर्ने माग राख्दै आएका छन्। उनीहरूको भनाइ अनुसार कृषि तथा पानीजहाज निर्माण क्षेत्रका लागि भाषा परीक्षा पास गरेका धेरैजसो व्यक्ति हालसम्म पनि रोजगारदाताको छनोटमा पर्न सकेका छैनन्।
दक्षिण कोरियाले सन् २००८ देखि ईपीएस प्रणालीमार्फत अदक्ष श्रमिक लैजाँदै आएको छ। यस प्रणालीबाट हालसम्म एक लाखभन्दा बढी नेपाली युवाहरू कोरिया गइसकेका छन्।
सन् २०२५ का लागि दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय गरी करिब ५ हजार जनाको कोटा निर्धारण गरेको छ। तर, यसका लागि एक लाखभन्दा बढी युवाले आवेदन दिएका छन् र विभिन्न चरणका परीक्षा प्रक्रिया सञ्चालन भइरहेको छ।
ईपीएस शाखाका अनुसार हाल भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका युवाको संख्या १२ हजारभन्दा बढी छ। शाखाले रोस्टरमा रहेका युवाहरूले छिटो कोरिया जान पाउनुपर्ने माग राख्दै जुलुस, धर्ना तथा आन्दोलन गर्दै आएकाले यसले समग्र प्रक्रियामा नकारात्मक प्रभाव परिरहेको जनाएको छ।