काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र स्वतन्त्र उम्मेदवार निकोलस (कमल) भुसालसँग स्पष्टीकरण माग गरेको छ।
शाह झापा निर्वाचन क्षेत्र नं. ५, बस्नेत भक्तपुर–२, साम्पाङ सुनसरी–१ र भुसाल रूपन्देही–२ बाट उम्मेदवार छन्। आयोगले उनीहरूका अभिव्यक्ति तथा गतिविधि निर्वाचन आचारसंहिता उल्लंघन भएको आरोपमा स्पष्टीकरण सोधेको हो।
आयोगका अनुसार बालेन शाहले सामाजिक सञ्जालमार्फत दिएका केही अभिव्यक्तिविरुद्ध उजुरी परेको थियो। उजुरीमा उनले सार्वजनिक बहस (पब्लिक डिबेट) सम्बन्धी विषयमा प्रयोग गरेका शब्दहरू घृणात्मक, भ्रामक र मानहानिकारक रहेको दाबी गरिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सार्वजनिक बहसको सन्दर्भमा शाहले दिएको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको उजुरीमा उल्लेख गरिएको छ।
त्यस क्रममा शाहले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा’, ‘आतंकवादी’ र ‘देश जलाउने’ जस्ता शब्द कुनै प्रमाण वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर आरोप भएको भन्दै उजुरी परेको आयोगले जनाएको छ।
एमाले सचिव महेश बस्नेतविरुद्ध पनि उजुरी परेको छ। उनले बालेन शाहले जनकपुरमा दिएको भाषणका केही शब्दलाई गलत अर्थ लगाएर प्रस्तुत गरेको र त्यसले मधेसी समुदायलाई अपमानित हुने गरी अभिव्यक्ति दिएको आरोप उजुरीमा गरिएको छ। बालेन शाहले भाषणमा प्रयोग गरेको ‘छौरा’ शब्दलाई बस्नेतले फरक अर्थमा व्याख्या गरेपछि विवाद उत्पन्न भएको थियो।
त्यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई निर्वाचन प्रचारका क्रममा बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण माग गरिएको छ।
यसैगरी, स्वतन्त्र उम्मेदवार निकोलस भुसालसँग पनि आयोगले स्पष्टीकरण सोधेको छ। उनले दुईवटा चुनाव चिह्न प्रयोग गरी प्रचार गरेको पाइएकाले सो विषयमा जवाफ मागिएको आयोगले जनाएको छ।
निर्वाचन आयोग स्रोतका अनुसार सम्बन्धित सबै उम्मेदवारलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।