धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह कैलाली निर्वाचन क्षेत्र नं. २ को बौनिया बजारस्थित ‘घण्टीघर’ क्षेत्रमा नरोकी अघि बढेपछि त्यहाँ भेला भएका कार्यकर्ता र समर्थकबीच असन्तोष देखिएको छ।
बालेन शाह आउने जानकारीपछि रास्वपाका कार्यकर्ता तथा समर्थकहरू बर्दगोरिया गाउँपालिका–२ स्थित बौनिया बजारमा बिहानैदेखि भेला भएका थिए। सो अवसरमा रास्वपा बर्दगोरिया क्षेत्रीय समितिले स्वागत तथा भेटघाट कार्यक्रम तय गरेको जनाएको थियो।
तर, शाह साढे ९ बजेतिर बौनिया पुगे पनि निर्धारित स्थानमा नरोकी अघि बढेका थिए। त्यसपछि त्यहाँ उपस्थित समर्थकहरूले व्यवस्थापनमा कमजोरी भएको भन्दै कैलाली–२ का रास्वपा उम्मेदवार केपी खनालप्रति गुनासो व्यक्त गरेका छन्।
खनालले भने समन्वयको कमीका कारण शाहलाई त्यहाँ रोक्न नसकिएको बताएका छन्। “यहाँ स्वागत र भेटघाटको कार्यक्रम तय गरिएको थियो, तर व्यवस्थापनमा ढिलाइ भयो,” उनले भने, “समन्वय अभावका कारण उहाँ रोक्न सकिएन। अब पुनः ल्याउने प्रयास गरिनेछ।”
रास्वपाबाट उम्मेदवार बनेका खनाल बालेन शाहकै समर्थनमा उम्मेदवारी दिएका नेता हुन्। पार्टीका नेताहरूका अनुसार बालेन शाह अछामसम्म पुगेर फर्किने कार्यक्रम रहेको छ।