काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयन गर्न निर्देशन दिएको छ।
मन्त्रालयले परिपत्र (सर्कुलर) जारी गर्दै निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि लागू गरेको आचारसंहिता सम्बन्धित स्थानीय तह र जिल्ला समन्वय समितिले आ-आफ्नो क्षेत्रमा पूर्ण रूपमा लागू गराउन आग्रह गरेको हो। मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलद्वारा जारी पत्रमा यससम्बन्धी जानकारी सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई गराइएको उल्लेख छ।
सरकारले यसअघि पुस १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी निर्वाचन आचारसंहिता सार्वजनिक गरेको थियो। निर्वाचन आयोगले अर्को सूचना जारी नभएसम्मका लागि उक्त आचारसंहिता लागू रहने जनाएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता कार्यान्वयन गरिएको हो।
मन्त्रालयले सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई आवश्यक समन्वय गरी आचारसंहिता प्रभावकारी रूपमा लागू गराउन ध्यानाकर्षण गराएको जनाएको छ।