झापा । झापा निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत दमक नगरपालिका–९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बिहान मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सञ्चालन गरेको छ।
माघ १२ गते बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रम करिब ११ बजेसम्म चलेको थियो। घरदैलो अभियान दमक–९ स्थित उराव बस्तीबाट सुरु भई पाणिनि स्कुल, देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक हुँदै पुनः उराव बस्तीमै पुगेर सम्पन्न भएको थियो।
कार्यक्रमका क्रममा पार्टीका प्रतिनिधिहरूले स्थानीय मतदातासँग भेटघाट गरी उनीहरूका समस्या, गुनासा तथा सुझाव संकलन गरेका थिए। पार्टीका अनुसार कार्यक्रममा स्थानीयको सहभागिता रहेको थियो।
उक्त कार्यक्रम पार्टीका नेताहरू तथा चुनाव प्रचार–प्रसार सचिवालयको समन्वयमा सञ्चालन गरिएको जनाइएको छ।
यसैबीच, रास्वपाले सोमबार दिउँसो पनि झापा–५ मा अर्को मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गर्ने जनाएको छ। दिउँसो ३ बजेदेखि कमल गाउँपालिका वडा नं. ५ स्थित पाडाजुगी चोकबाट सुरु हुने कार्यक्रम गुहेश्वरी टोल, टुक्रे र सशस्त्र चेकपोष्ट हुँदै दक्षिणतर्फ पाथीभरा टोल र अम्बिका चोक पार गर्दै मंगलबारे बजारमा पुगेर समापन गरिने बताइएको छ।
उक्त कार्यक्रम पनि पार्टीका प्रतिनिधिहरू तथा चुनाव प्रचार–प्रसार सचिवालयको समन्वयमा सञ्चालन हुने जनाइएको छ।