काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन प्रक्रिया रोक्न जारी गरिएको अन्तरिम आदेश खारेज गराउन माग गर्दै निर्वाचन समितिले दिएको निवेदनमाथि उच्च अदालत पाटनले सुनुवाइ प्रक्रिया अघि बढाएको छ।
गत माघ ४ गते पाटन उच्च अदालतले एन्फाको निर्वाचन स्थगित गर्ने अन्तरिम आदेश दिएको थियो। सो आदेशविरुद्ध निर्वाचन समितिले निवेदन दायर गरेपछि अदालतले त्यस विषयमा छलफल सुरु गरेको हो।
न्यायाधीश राजुकुमार खतिवडा र गोपालप्रसाद बास्तोलाको संयुक्त इजलासले अन्तरिम आदेश खारेज गर्न माग गरिएको निवेदनमा विपक्षी पक्षलाई उपस्थित गराई बहस गर्ने आदेश दिएको छ।
अदालतका अनुसार निवेदक रविन्द्र चन्दको ठेगानामा म्याद तामेल हुन नसकेको र फोन सम्पर्क पनि हुन नसकेपछि म्याद फिर्ता आएको थियो। त्यस्तै, विराटजंग शाहीलाई समेत निवेदनको जानकारी नपुगेको देखिएपछि दुवै जनालाई माघ २३ गते अदालतमा उपस्थित गराउने गरी म्याद तामेल गर्न आदेश दिइएको छ।
व्यक्तिगत रूपमा म्याद दिन नसकिएमा रविन्द्र चन्द र विराटजंग शाही दुवैको हकमा एन्फा कार्यालयमार्फत म्याद तामेल गरिने आदेशमा उल्लेख गरिएको छ। साथै, विराटजंग शाहीलाई माघ २२ कै तारेखबाट जानकारी दिई रिट निवेदन तथा सम्बन्धित निषेधाज्ञा मुद्दासमेत सोही दिन पेशी तोकिएको अदालतले जनाएको छ।
यसअघि अदालतको अन्तरिम आदेशपछि एन्फा निर्वाचन समितिले माघ ६ गते निर्वाचन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको थियो।