काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूका निवर्तमान अध्यक्ष सुजन कडरियाले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आफू चढेको भनिएको टेस्ला कारसँग जोडेर प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कडरियाले आफू अहिलेसम्म बालेनलाई व्यक्तिगत रूपमा नचिनेको र कहिल्यै भेटघाटसमेत नभएको बताएका छन्। “मैले अहिलेसम्म बालेनलाई भेटेको पनि छैन,” उनले लेखेका छन्, “मेरो कुनै टेस्ला गाडी पनि छैन। मेरो गाडी एएनवाई हो।”
उनले एउटा रातो गाडी अगाडि आफ्नो तस्बिर राखेर नम्बर प्लेट मिलेको भन्दै पूर्वाग्रहपूर्ण ढंगले समाचार प्रकाशित गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। यसअघि पनि आफूले नचिनेको व्यक्तिसँग जोडेर ‘बालेनको मन्त्री बन्न अखिलबाट राजीनामा’ भन्ने शीर्षकमा समाचार प्रकाशित हुँदा व्यक्तिगत रूपमा अत्यधिक आलोचना सहनुपरेको र त्यसबाट क्षति पुगेको उनको भनाइ छ।
कडरियाले सामाजिक सञ्जालमा लेखेका छन्, “यस्ता वाहियात मिडियाको पछाडि लागेर नझुक्किनुहुन हार्दिक अपिल गर्दछु।” उनले सस्तो लोकप्रियताका लागि यथार्थ नबुझी समाचार प्रकाशन गरिँदा भ्रम सिर्जना हुने बताएका छन्।
उनले बालेनसँग आफ्ना केही साथीभाइको सम्बन्ध रहेको हुन सक्ने तर त्यो पूर्ण रूपमा व्यक्तिगत विषय भएको उल्लेख गरेका छन्। “मेरो भाइको सम्बन्ध पनि उसको निजी मामिला हो र पारिवारिक रूपमा पनि हामी सँगै बस्दैनौँ,” उनले लेखेका छन्।
कडरियाले आफू नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीको समर्थक रहेको उल्लेख गर्दै एमालेको कार्यकर्ता नै रहेको र रहने स्पष्ट पारेका छन्।
सञ्चारमाध्यममा टेस्ला कारमा बालेन चढेको खबर आएपछि सामाजिक सञ्जालमा विभिन्न चर्चा चलेको थियो। त्यसै सन्दर्भमा कडरियाले उक्त समाचारप्रति सार्वजनिक रूपमा खण्डन गरेका हुन्।