सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप चैनपुर–१ नुनढाकी नजिक दुर्घटनामा परेको हो। दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन।
दुर्घटनालगत्तै सशस्त्र प्रहरी नं. ४ गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेल र इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राईको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार घाइते सबैको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचारका लागि पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।