सर्लाही । सर्लाहीको नवलपुरस्थित मोहन आयुर्वेद औषधालयमा उपचारका क्रममा १८ वर्षीया हंसु पासवानको मृत्यु भएको छ।
पाइल्सको समस्याबाट पीडित पासवान उपचारका लागि उक्त औषधालय पुगेकी थिइन्। परिवारजनका अनुसार सुरुमा उनको अवस्था सामान्य रहे पनि इन्जेक्सन लगाएपछि स्वास्थ्य बिग्रँदै गएको थियो। त्यसपछि अर्को इन्जेक्सन लगाएपछि अवस्था झनै गम्भीर बनेको र उपचारका लागि हरिवनस्थित नमूना अस्पताल लैजाँदै गर्दा चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनापछि नवलपुर क्षेत्रमा तनाव उत्पन्न भएको थियो। आक्रोशित स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। प्रहरीका अनुसार अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको छ।
प्रहरीले उक्त आयुर्वेद औषधालय अवैध रूपमा सञ्चालन हुँदै आएको जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।
घटनासँग सम्बन्धित औषधालयका वैद्य रामविनय साहलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

