काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहबीच सार्वजनिक बहस (डिबेट) गर्ने विषयमा चर्किएको विवादमा पत्रकार समा थापाले टिप्पणी गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै थापाले प्रधानमन्त्री बन्ने आकांक्षा राख्ने व्यक्तिले प्रश्नबाट भाग्न नहुने उल्लेख गरेकी छन्। उनले ओली डिबेटका लागि तयार रहँदा बालेनले ‘२३ गतेको हत्यारासँग मञ्च सेयर गर्दिनँ’ भन्ने अभिव्यक्ति दिएको सन्दर्भ उठाउँदै प्रश्न गरेकी छन्।
थापाले लेखेकी छन्, “देशको प्रधानमन्त्री बन्न चाहने मानिस प्रश्नबाट भाग्न नपाउनु पर्ने हो।” साथै उनले बालेन शाहले ओलीसँग मञ्च सेयर नगर्ने भने पनि निर्वाचन क्षेत्रमा भने एउटै प्रतिस्पर्धामा उत्रिएको विषयप्रति असंगति रहेको संकेत गरेकी छन्।
उनले स्टाटसमा प्रश्न गरेकी छन्, “ओली डिबेट गर्न तयार रहँदा ‘२३ गतेको हत्यारासँग मञ्च सेयर गर्दिनँ’ भन्नेले निर्वाचन क्षेत्र चाहिँ किन सेयर गर्नुभएको होला ? आखिर चुनावी प्रतिस्पर्धा पनि समान हैसियतका बीच नै हुने होइन ?”
थापाको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा सार्वजनिक बहस र चुनावी प्रतिस्पर्धाबारे पुनः चर्चा सुरु भएको छ। ओलीको बहस प्रस्ताव र बालेन शाहको अस्वीकारलाई लिएर राजनीतिक तथा सामाजिक वृत्तमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।