काठमाडौँ । नेपाल र साउदी अरबबीच पहिलो पटक आइतबार साँझ साउदी अरबको राजधानी रियादमा नेपाली श्रमिकको भर्नासम्बन्धी श्रम सम्झौतामा हस्ताक्षर हुँदै छ।
सम्झौतामा हस्ताक्षर गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउदी अरब गएका छन्। सम्झौतामा मन्त्री भण्डारी र साउदीका मानव संशाधन तथा सामाजिक विकासमन्त्री अहमद बिन सुलेमान अल–राजहीले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।
नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक साउदी अरब र नेपालबीच श्रम सम्झौता गर्न करिब एक दशकदेखि मस्यौदामाथि छलफल हुँदै आएको थियो। सन् २०१८ देखि अल–राजही साउदीको मानव संशाधन मन्त्रालयको नेतृत्व गर्दै आएका छन्।
गत जेठको अन्तिम साता जेनेभामा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबका अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबीच घरेलु श्रमिकसम्बन्धी सम्झौता पछि गर्ने गरी सामान्य श्रम सम्झौता अघि बढाउने सहमति भएको थियो। घरेलु श्रमिकसम्बन्धी सम्झौताका लागि थप गृहकार्य गरिने मन्त्रालयले जनाएको छ।
श्रम सम्झौताले साउदीको श्रम बजारमा जाने नेपाली श्रमिकलाई थप अवसर प्रदान गर्ने, पारदर्शी भर्ना प्रक्रिया सुनिश्चित गर्ने, मानव तस्करी नियन्त्रण गर्ने तथा श्रमिक र रोजगारदाताको अधिकारको सम्मान गर्ने उद्देश्य राखेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का श्रम मापदण्डलाई आधार मानी सम्झौता गर्न लागिएको हो। सम्झौतामा साउदीको श्रम कानुनअनुसार नेपाली श्रमिकको तलब सुरक्षाको व्यवस्था, दोहोरो करारपत्र अन्त्य, अत्यधिक लागत नियन्त्रण, म्यानपावर कम्पनीबाट हुने ठगी रोक्ने, श्रमिकको न्यायमा पहुँच सुनिश्चित गर्ने विषय समेटिएको जनाइएको छ।
हाल साउदी अरबमा करिब चार लाख नेपाली श्रमिक कार्यरत छन्। उनीहरू मुख्यतः निर्माण र सेवा क्षेत्रमा कार्यरत छन्। पछिल्लो १० वर्षमा साउदी अरबमा १३ लाख ५२ हजार ८ सयभन्दा बढी नेपालीले श्रम गरिसकेका छन्, जसमा १ लाख ११ हजार महिला श्रमिक रहेका छन्। आर्थिक वर्ष २०८१/८२ मा पुनः श्रम स्वीकृतिसहित १ लाख ५२ हजार नेपाली साउदी गएका थिए।
श्रम मन्त्रालयको पछिल्लो प्रतिवेदनअनुसार पछिल्ला दुई आर्थिक वर्षमा साउदी अरबमा ६ सय ८४ जना नेपाली श्रमिकको मृत्यु भएको छ।