काठमाडौं । पत्रकार, बुद्धिजीवी तथा युवा पुस्ताले प्रधानमन्त्री पदका सम्भावित दावेदारहरूलाई एउटै मञ्चमा बसेर सार्वजनिक बहस (पब्लिक डिबेट) गर्न आह्वान गरेपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आउन थालेको छ। यसै क्रममा सामाजिक अभियन्ता ईः ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहप्रति लक्षित गर्दै कटाक्षपूर्ण टिप्पणी गरेका छन्।
ईः ले फेसबुकमार्फत सार्वजनिक गरेको पोस्टमा भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत भइरहेका नेताले भिडियो अन्तर्वार्ता र सार्वजनिक बहसबाट टाढा रहनु नै उपयुक्त चुनावी रणनीति भएको टिप्पणी गरेका छन्। उनले नियन्त्रित उपस्थितिमार्फत सन्देश दिने शैलीलाई प्राथमिकता दिनु सुरक्षित उपाय भएको उल्लेख गरेका छन्।
उनले पोस्टमार्फत वर्तमान राजनीतिक बहसका विषयहरू- २४ गतेको घटनाक्रम, महानगर प्रहरीको भूमिकाबारे उठेका प्रश्न, कानूनी शासनको अवस्थाप्रति निरन्तर भइरहेको आलोचना, सामाजिक–आर्थिक नीति तथा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता संवेदनशील विषयमा सार्वजनिक रूपमा प्रश्न उठेमा विवाद चर्किन सक्ने संकेत गरेका छन्।
ईः ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सान्दर्भिकता समाप्त भइसकेको टिप्पणी गर्दै भविष्यमा त्यस्तै प्रकृतिको अर्को शक्तिशाली व्यक्तित्व उदाउनु उपयुक्त नहुने संकेत पनि गरेका छन्। उनको उक्त पोस्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समर्थन र आलोचनात्मक प्रतिक्रिया दुवै आएका छन्। केही प्रयोगकर्ताले सार्वजनिक बहसबाट टाढा रहनु राजनीतिक जवाफदेहितासँग जोडिएको विषय भएको बताएका छन् भने केहीले नियन्त्रित प्रचार शैलीलाई राजनीतिक रणनीतिको रूपमा लिनुपर्ने धारणा राखेका छन्।