काठमाडौँ । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार कोलडाँडा–थर्पु भित्री सडकखण्डमा कोलडाँडाबाट थर्पुतर्फ आउँदै गरेको ग ३ च ५८३८ नम्बरको जीप आइतबार बिहान करिब २० मिटर तल खसेको हो।
दुर्घटनामा म्याग्दे गाउँपालिका–४ कोलडाँडाकी १३ वर्षीया कोइस्का घर्तीको मृत्यु भएको छ। गम्भीर घाइते भएकी घर्तीलाई बिहान ८स्४० बजे प्रदेश अस्पताल दमौलीमा चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा सोही ठाउँका १५ वर्षीय दिपसन घर्ती घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले जीप चालक म्याग्दे–४ कै ३० वर्षीय वसन्त घर्तीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।