काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको वैयक्तिक विवरण सार्वजनिक गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका व्यक्तिहरूको वैयक्तिक विवरण सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान रहेको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ तोकिएको मितिमा मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरूले पेस गरेको वैयक्तिक विवरण प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ (१) बमोजिम सार्वजनिक गरिएको आयोगले जनाएको छ।
निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष तथा विश्वसनीय बनाउन उम्मेदवारका वैयक्तिक विवरण सार्वजनिक गर्नु आवश्यक भएकाले कानुनअनुसार सबै उम्मेदवारको विवरण सार्वजनिक गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार यसले मतदाता, सरोकारवाला निकाय, सञ्चारमाध्यम तथा आमनागरिकलाई उम्मेदवारसम्बन्धी आवश्यक जानकारी सहज रूपमा प्राप्त गर्न मद्दत गर्नेछ। सो विवरण आयोगको आधिकारिक वेबसाइटमार्फत प्रकाशित गरिएको छ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल ३ हजार ४८६ उम्मेदवारी दर्ता भएको छ। माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता गरिएको थियो। कुल उम्मेदवारीमध्ये ३ हजार ८९ जना पुरुष, ३ सय ९६ जना महिला तथा एक जना अन्य रहेको निर्वाचन आयोगले जनाएको छ।