काठमाडौं । सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक गरिएको छ।
महालेखा नियन्त्रकको कार्यालयअन्तर्गत कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहलले ती व्यक्तिहरूको नाम, ठेगाना र तिर्न बाँकी रकमसहितको विवरण सार्वजनिक गर्दै ३५ दिनभित्र साँवा र ब्याजसहित रकम बुझाउन निर्देशन दिएको हो। तोकिएको समयभित्र रकम नबुझाए उनीहरूको चल तथा अचल सम्पत्ति दाबी गरी प्रचलित कानुनअनुसार असुल उपर गरिने चेतावनी दिइएको छ।
सार्वजनिक सूचीमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, दि फूलबारी लिमिटेड पोखराका पियुषबहादुर अमात्यसहित कर्मचारी, कृषि व्यवसायी, सशस्त्र प्रहरीलगायत विभिन्न पेशा तथा क्षेत्रका व्यक्ति समावेश छन्।
केन्द्रीय तहसिल कार्यालयका अनुसार सरकारी रकम तिर्न बाँकी रहने व्यक्तिहरूको लगत राखी विगतका वर्षहरूमा पनि पटक–पटक सार्वजनिक सूचना प्रकाशित गरिएको थियो। साथै उनीहरूको घर ठेगानामा पत्राचार गरी कार्यालयमा उपस्थित हुन र बाँकी रकम बुझाउन अनुरोध गरिएको थियो।
तर ती सबै प्रयासका बाबजुद पनि सरकारी रकम बुझाउने कार्य नभएकाले बाध्य भएर तीनपुस्ते विवरण सार्वजनिक गर्नुपरेको केन्द्रीय तहसिल कार्यालयले जनाएको छ।
कार्यालयले सम्बन्धित सबै व्यक्तिलाई तोकिएको अवधिभित्र बाँकी रकम बुझाउन पुनः आग्रह गरेको छ।
