काठमाडौँ । नेपाल प्रहरीका १७ जना प्रहरी कर्मचारी विभिन्न मितिदेखि आफूखुसी गैरहाजिर रहेको भन्दै प्रहरी प्रधान कार्यालयले कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।
प्रहरी प्रधान कार्यालयले आइतबार सूचना जारी गर्दै गैरहाजिर रहेका ती प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन आग्रह गरेको हो। खोजतलास तथा सूचना टाँस भइसक्दा पनि उनीहरू कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
गैरहाजिर हुनेमा एक जना प्रहरी सहायक निरीक्षक, एक जना प्रहरी हवलदार, एक जना सहायक हवलदार, ११ जना प्रहरी जवान र तीन जना कार्यालय सहयोगी रहेका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर हुनुको कारण खुलाएर सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित नभए प्रचलित नियमावलीअनुसार सेवाबाट हटाइने चेतावनी दिइएको छ।
प्रहरी प्रधान कार्यालयले सम्बन्धित सबै प्रहरी कर्मचारीलाई तोकिएको समयसीमाभित्र कार्यालयमा उपस्थित हुन पुनः आग्रह गरेको छ।
-1769312009.jpg)