काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले टी–२० विश्वकप २०२६ मा बङ्गलादेशको सट्टा स्कटल्यान्डलाई खेलाउने भएको छ।
सुरक्षाको कारण देखाउँदै बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा टोली पठाउन अस्वीकार गरेपछि आईसीसीले टी–२० विश्वकपमा बङ्गलादेशको सट्टा स्कटल्यान्डलाई खेलाउने निर्णय गरेको छ ।
प्रतियोगिताका लागि बङ्गलादेश सरकारले टोलीलाई भारत पठाउन नदिएको बीसीबीले जानकारी गराएपछि आईसीसीले हिजो बेलुकी बीसीबीलाई निर्णयको बारेमा जानकारी गराएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ ।
बीसीबीले सुरक्षा कारण देखाउँदै आईसीसीलाई आफ्ना खेलहरू भारतबाट श्रीलङ्कामा सार्न अनुरोध गरेको थियो । तर आईसीसीले बीसीबीको अनुरोधलाई अस्वीकार गरेको हो ।
स्कटल्याड अहिलेको टी–२० वरीयतामा १४औँ स्थानसहित आईसीसी प्रतियोगिताहरूमा प्रदर्शनका आधारमा विश्वकपमा स्थान पाएको हो । आईसीसीको नयाँ निर्णयअनुसार टी–२० विश्वकपको समूह ‘सी’ मा नेपाल, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, इटालीसहित स्कटल्यान्ड रहने भएको छ ।
१०औँ संस्करणको टी–२० विश्वकप आउँदो फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुँदैछ ।