काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले पहिलो जीत हासिल गरेको छ । कीर्तिपुरको त्रिवि मैदानमा आज भएको खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले हरायो ।
जिम्बावेले दिएको १ सय ३० रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालकी पूजा महतोले ५२ रन बनाइन् । जिम्बावेकी जोसेफिन एनकोमोले २ विकेट लिइन् ।
यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनायो । जिम्बावेकी केलिस एनध्लोभुले नटआउट ५२ रन बनाइन् । नेपालकी रिया शर्माले २ विकेट लिइन् ।
यो जीतसँगै नेपालले प्रतियोगिताको ‘सुपर सिक्स’ मा पुग्ने झिनो सम्भावना कायम राखेको छ ।
यसअघि नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि सोमवार स्कटल्यान्डसँग खेल्नेछ।
१० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।