निजगढ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत निजगढ नगरपालिका–९ स्थित भमरापुल नजिक ट्रकको ठक्करबाट एक युवक गम्भीर घाइते भएका छन्। घटनामा संलग्न ट्रक चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार रौतहट गमहरिया घर भएका २५ वर्षीय मुकेश चौधरी बिहीबार बिहान करिब २ बजे सडकबाट करिब २० फिट तल कच्ची बाटोमा गम्भीर घाइते अवस्थामा फेला परेका थिए। उनको दुवै खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय निजगढको टोलीले चौधरीलाई प्रादेशिक अस्पताल कलैयामा उपचारका लागि पठाएको थियो। त्यहाँबाट अवस्था गम्भीर भएपछि नारायणी अस्पताल वीरगञ्ज हुँदै काठमाडौंस्थित ट्रमा सेन्टर रिफर गरिएको छ। हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक रूपमा सवारीसाधन नखुलेपछि प्रहरीले सीसीटीभी फुटेज संकलन गरी अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा ना ८ ख ३९८५ नम्बरको ट्रकले ठक्कर दिएको पुष्टि भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न ट्रक चालक सर्लाही मलंगवा नगरपालिका–४ का ३० वर्षीय प्रमोद पण्डित कुमार र सहचालक बसवरिया नगरपालिका–३ का १९ वर्षीय राम छबिलाल साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।