काठमाडौं । विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरू ठगीमा पर्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सम्बन्धित विश्वविद्यालय, कलेज तथा शैक्षिक संस्थाको आधिकारिकता पुष्टि गर्ने निकायहरूको सूची सार्वजनिक गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै वैदेशिक अध्ययन स्वीकृतिपत्र (एनओसी) लिने प्रक्रियामा अनधिकृत र मान्यता नपाएका शैक्षिक संस्थामा भर्ना भएर विद्यार्थीहरू समस्यामा परिरहेको उल्लेख गरेको छ।
सूचनामा भनिएको छ, पछिल्लो समय विदेशमा अध्ययन गर्ने नाममा गैरआधिकारिक विश्वविद्यालय, कलेज तथा शिक्षण संस्थामा भर्ना गराई विद्यार्थीहरूलाई आर्थिक तथा शैक्षिक रूपमा ठगिएको गुनासो बढ्दै गएपछि मन्त्रालय गम्भीर रूपमा ध्यानाकर्षण भएको हो। यही अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले एनओसी अनलाइन प्रणालीमार्फत आवेदन दिने विद्यार्थीका लागि अध्ययन गर्न जाने संस्थाको आधिकारिकता अनिवार्य रूपमा पुष्टि गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ।
मन्त्रालयका अनुसार विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले आफू अध्ययन गर्न चाहेको विश्वविद्यालय, कलेज वा शैक्षिक संस्था सम्बन्धित देशको सरकारी वा मान्यता प्राप्त नियामक निकायमा दर्ता तथा स्वीकृत भएको हुनुपर्छ। सोको पुष्टि मन्त्रालयले तोकेको आधिकारिक वेबसाइटमार्फत गर्नुपर्नेछ। सूचीबाहिरका, दर्ता नभएका वा आधिकारिक मान्यता नपाएका संस्थामा अध्ययन गर्न जाने विद्यार्थीलाई एनओसी जारी नहुने स्पष्ट गरिएको छ।
सूचनामा चीन, अस्ट्रेलिया, नर्वे, संयुक्त अरब इमिरेट्स (यूएई) र संयुक्त अधिराज्यका लागि सम्बन्धित आधिकारिक वेबसाइट उल्लेख गरिएको छ। साथै आयरल्याण्ड, स्पेन, माल्टा, संयुक्त राज्य अमेरिका, जर्मनी, इटाली, लिथुआनिया, फ्रान्स र कोरिया गणतन्त्रका विश्वविद्यालय तथा शिक्षण संस्थाको आधिकारिकता जाँच गर्ने निकायहरूको विवरण पनि सार्वजनिक गरिएको छ।
मन्त्रालयले वैदेशिक अध्ययनसम्बन्धी निर्देशिका २०७९ (संशोधनसहित) को दफा १८ को उपदफा ४ अनुसार एनओसी जारी गर्दा सम्बन्धित विश्वविद्यालय वा कलेजको आधिकारिकता पुष्टि गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ। सोही आधारमा अफर लेटर, कन्डिसनल वा अनकन्डिसनल एडमिसन, आई–२०, सीओई, आई–डब्ल्यु जस्ता कागजातको जाँच गरिनेछ।
शिक्षा मन्त्रालयले वैदेशिक अध्ययनका नाममा हुने ठगी रोक्न तथा विद्यार्थीको भविष्य सुरक्षित गर्न जारी गरिएको यो सूचनालाई गम्भीरतापूर्वक पालना गर्न सबै विद्यार्थी तथा अभिभावकलाई आग्रह गरेको छ।