सिरहा - सिरहाको मिर्चैया नगरपालिका–७ स्थित छघरे बस्तीबाट करिब एक किलोमिटर उत्तरतर्फ पर्ने टेना खोलामा बेवारिसे अवस्थामा एक महिलाको जलेको शव फेला परेको छ।
स्थानीय बासिन्दाले खोलामा शव देखेपछि इलाका प्रहरी कार्यालय मिर्चैया लाई जानकारी गराएका थिए। सूचनापछि प्रहरी टोली घटनास्थल पुगेर शव नियन्त्रणमा लिई आवश्यक प्रक्रिया अघि बढाएको अनन्तराम शर्मा ले बताएका छन्।
प्रहरीका अनुसार शव लामो समयअघि खोलामा फालिएको हुन सक्ने आशंका छ। शवको तल्लो भाग हड्डी मात्र बाँकी रहेको र माथिल्लो भाग आंशिक रूपमा जलेको अवस्थामा भेटिएको छ। शरीरका विभिन्न भागमा दाग देखिएकाले महिलाको हत्या गरी शव जलाएर खोलामा फालिएको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ।
हालसम्म मृतक महिलाको पहिचान खुल्न सकेको छैन। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्ट आएपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ। साथै घटनास्थल आसपासका स्थानीय र सम्भावित साक्षीहरूसँग सोधपुछ पनि जारी छ।