काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशमा दिगो स्थायित्व स्थापना गर्न सरकार पूर्ण क्षमताका साथ सक्रिय रहेको बताएकी छन्। शुक्रबार सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले बदलिँदो समयसँगै सुरक्षा चुनौतीहरू पनि रूपान्तरित हुँदै गएको उल्लेख गरिन्।
उनले विगतका निर्वाचनहरूलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरी बलले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आउँदो प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सम्भावित सुरक्षा जोखिमको सूक्ष्म मूल्याङ्कन गर्दै उच्च सतर्कता र व्यावसायिक ढंगले काम गर्न निर्देशन दिइन्। निर्वाचनका लागि सबै सुरक्षा निकाय परिचालन गर्ने निर्णय भइसकेको जानकारी दिँदै उनले मतदान प्रक्रियामा कुनै पनि किसिमको हिंसा हुन नदिन विशेष सुरक्षा व्यवस्थापन गर्न आग्रह गरिन्।
प्रधानमन्त्री कार्कीले निर्वाचनका क्रममा एक थोपा पनि रगत नबग्ने र कसैलाई चोटपटक नलाग्ने अवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्। सबै सुरक्षा निकायले उच्च स्तरको व्यावसायिकता देखाउँदै निर्वाचन सफल बनाउने विश्वास पनि उनले व्यक्त गरिन्।