झापा - पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग झापा क्षेत्र नं. ५ मा प्रतिस्पर्धामा उत्रिएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको जीवनशैली र चुनावी शैलीले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म आलोचना खेपिरहेको छ।
गरिब जनताको आवाज उठाउने दाबी गर्दै राजनीतिमा आएका बालेन अहिले करोडौं मूल्य पर्ने गाडी र महँगो पहिरनसहित प्रचारमा निस्किएपछि उनका आदर्श र व्यवहारबीचको अन्तरलाई लिएर तीव्र बहस सुरु भएको हो। विशेषगरी उनले प्रयोग गरिरहेको ‘ल्यान्डरोभर डिफेन्डर’ गाडी र महँगो ब्रान्डेड कपडाले मतदाताबीच असहज अनुभूति गराएको छ।
बालेनको विलासितापूर्ण प्रचार अभियानसँगै उनको पछाडि देखिएको आर्थिक समर्थन र व्यापारिक सम्बन्धले थप विवाद निम्त्याएको छ। उनले चढेको गाडी 'करेन्ट चाउचाउ' ब्रान्डका व्यवसायी कमल मालपानीका छोरा नितेशको नाममा दर्ता भएको देखिएको छ। सोही कम्पनीसँग जोडिएका र पूर्वविवादित सरकारी कर्मचारी रघुनाथ घिमिरेको संलग्नता पनि उजागर भएको छ। त्यसमाथि कांग्रेसका उम्मेदवार समेत रहेका मालपानीका साझेदारहरूले बालेन मात्र होइन, एमाले र कांग्रेसका शीर्ष नेताहरूलाई समेत आर्थिक सहयोग गर्ने गरेको स्वीकारेपछि बालेनको 'स्वतन्त्र' छवि पनि प्रश्नको घेरामा आएको छ।
झापामा बालेनको विलासी प्रस्तुतिले स्थानीय पत्रकारहरूप्रति देखाइएको अवहेलासहित ‘ब्रान्ड बालेन’ को चरित्र परिवर्तन भएको चर्चा चलिरहेको छ। उनका आलोचकहरू भन्छन्, “हिजोको विद्रोही बालेन र आजको ल्यान्डरोभर वाला बालेनबीचको दूरी जनताले चर्को रूपमा महसुस गर्न थालेका छन्।”