काठमाडौं - राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीनवटा अध्यादेश सभासमक्ष पेस गरेका छन्। उनले ‘मतदाता नामावली ऐन, २०७३ संशोधन अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२’ प्रस्तुत गरेका हुन्।
बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ पेस गरिन् भने विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गरिन्।
यसै क्रममा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन तथा कार्यभार तोकिएकोसम्बन्धी पत्रहरूको विवरण पढेर सुनाएका थिए। बैठकले पूर्वमन्त्रीहरू ऋषिकेश गौतम, मोहम्मद अफ्ताब आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल तथा पूर्वसांसद कृष्णकुमारी श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। राष्ट्रियसभाको अर्को बैठक माघ १३ गते मंगलबार दिउँसो १:१५ बजे बस्नेछ।