काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का ११ जना कर्मचारी लामो समयदेखि सम्पर्कविहीन भएका छन्। अध्ययन बिदामा रहेका ७ जना वैज्ञानिकसहित ती कर्मचारीलाई सम्पर्कमा आउन भन्दै नार्कले दोस्रो पटक सार्वजनिक सूचना जारी गरेको हो। यसअघि मंसिर १४ गते पहिलो सूचना जारी गरिए पनि कुनै प्रतिक्रिया नआएपछि शुक्रबार पुनः सूचना निकालिएको नार्कले जनाएको छ।
सम्पर्कविहीन हुनेमा वैज्ञानिक अच्युत मिश्र (२०७४ भदौदेखि), नवीनकुमार दंगाल (२०७६ भदौदेखि), होमन रेग्मी (२०७३ माघदेखि), देवराज चालिसे (२०७३ चैतदेखि), प्रतिष्ठा अधिकारी (२०७४ मंसिरदेखि), दिनेशबाबु थापा मगर (२०७५ साउनदेखि) र संजिव गौतम (२०७५ भदौदेखि) रहेका छन्। यसैगरी अन्य कर्मचारी सुमन कार्की, उज्ज्वल सुवेदी, अतित पराजुली र अस्मिता श्रेष्ठ पनि विभिन्न मितिदेखि सम्पर्कमा नरहेको नार्कले उल्लेख गरेको छ।
नार्कका अनुसार उनीहरूले अध्ययन बिदा स्वीकृत गराई अध्ययनमा गएपछि बिदा सकिएपछि हाजिर हुनुपर्नेमा पदबाट राजीनामा पेस गरेको देखिएको छ। कर्मचारी प्रशासन विनियम २०४९ को विनियम ४०(२) अनुसार नोकरी टुटेको मानी सेवाबाट किन नहटाउने भन्ने विषयमा स्पष्टीकरण सोधिएको छ। सेवाबाट अलग नगर्नुपर्ने कुनै कारण वा प्रमाण भए सात दिनभित्र स्वयं उपस्थित भई स्पष्टीकरण बुझाउन नार्कले आग्रह गरेको छ।
