काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल आयल निगमले देशभर इन्धन आपूर्ति सहज बनाउन विशेष योजना कार्यान्वयनमा ल्याएको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार निर्वाचन अवधिमा माग बढ्ने अनुमानका आधारमा पेट्रोल अभाव नहोस् भनी तयारी पूरा गरिएको छ। हाल दैनिक २२–२५ लाख लिटर पेट्रोल र ४०–४५ लाख लिटर डिजेल खपत हुनेमा चुनावी प्रचारको मुख्य अवधिमा पेट्रोल माग ५–७ प्रतिशतले बढेर २५–२७ लाख लिटरसम्म पुग्न सक्ने प्रक्षेपण छ।
निगमले सातै प्रदेशका डिपोमा इन्धन मौज्दात ९० प्रतिशतसम्म पुर्याउने लक्ष्य लिएको छ, ताकि सीमा बन्द वा ढुवानी अवरोधका बेला पनि आपूर्ति प्रभावित नहोस्। अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनका कारण आपूर्ति थप सहज बनेको र आवश्यक परे १ घण्टाभित्र तेल आउन थाल्ने तथा ४–५ घण्टामा ट्यांकी भरिने अवस्था रहेको निगमले जनाएको छ। निर्वाचनका बेला निर्माण कार्य सुस्त हुने भएकाले डिजेलको कुल मागमा ठूलो प्रभाव नपर्ने निगमको विश्लेषण छ।
ईआरपी प्रणाली र मोबाइल एपमार्फत भुक्तानी व्यवस्थाले वितरण प्रणाली चुस्त बनाइनेछ भने शनिबार र सार्वजनिक बिदामा पनि डिपो खुला राखिनेछ। सम्भावित कृत्रिम अभाव र कालोबजारी रोक्न केन्द्र, प्रदेश र जिल्ला प्रशासनसँग समन्वय गरी कडा अनुगमन गरिने निगमको भनाइ छ। साथै, मतदाताको रात्री यात्रालाई ध्यानमा राख्दै पेट्रोल पम्पहरू बढी समय खुला राख्न डिलरहरूलाई आग्रह गरिएको छ।