काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले माघ ०९ गते (शुक्रबार) दिउँसोदेखि माघ १० गते (शनिबार) बिहानसम्म देशका विभिन्न भागमा वर्षा तथा हिमपात हुन सक्ने जनाएको छ। स्वतन्त्र मौसमविद्हरूले पनि सो अवधिमा मौसम बद्लिने सम्भावना औंल्याएका छन्।
महाशाखाका अनुसार पश्चिमबाट आइरहेको सुख्खा हावाको प्रभाव कम हुँदै शुक्रबार दिउँसोपछि वर्षा गराउने बादल नेपाल प्रवेश गर्ने संकेत देखिएको छ। कोशी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ भने मधेस प्रदेशमा भने वर्षाको सम्भावना नरहेको जनाइएको छ।
त्यसैगरी बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा/हिमपातको सम्भावना छ। गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यम हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा पनि मेघगर्जन–चट्याङसहित मध्यम वर्षा तथा उच्च पहाडी–हिमाली क्षेत्रमा मध्यम हिमपातको सम्भावना रहेको अद्यावधिक सूचनामा उल्लेख छ।