काठमाडौं । विराटनगरमा एक गर्भवती कुकुरमाथि भएको अमानवीय यौन दुर्व्यवहारपछि उसको उद्धार गरी उपचार थालिएको छ। पशुअधिकारकर्मी इरफान खानका अनुसार उक्त कुकुरलाई बुद्ध एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याएर स्वास्थ्य परीक्षण र उपचार सुरु गरिएको हो। अवोध तथा वेवारिसे पशुप्राणीको हितमा लामो समयदेखि सक्रिय इरफानले कुकुरको गर्भावस्था र जबरजस्ती खुवाइएका निदाउने औषधिका कारण परेको असरबारे विस्तृत जाँच भइरहेको जानकारी दिए।
अनुसन्धानका क्रममा ती पुरुषले सात महिनाभन्दा बढी समयसम्म कुकुरलाई बन्धक बनाएर बारम्बार यौन शोषण गरेको र सिल्पिङ ट्याबलेट खुवाउने गरेको खुलासा भएको छ। इरफानका अनुसार यो अत्यन्तै स्तब्ध पार्ने र क्षम्य नहुने कृत्य हो, र उपचारपछि कुकुरलाई आफ्नै संरक्षणमा राखेर आवश्यक माया, सुरक्षा र हेरचाह उपलब्ध गराइनेछ। कुकुरको नाम ‘मिली’ राखिएको छ।
उद्धार र कानुनी कारबाहीका लागि दबाब दिन एनिमल नेपाल, साहारा नेपालका सदस्यहरू तथा विश्वराम कार्की सक्रिय रहेका थिए। साथै विराटनगरमा सामुदायिक पशुप्राणीको हेरचाह गर्दै आएकी **एलिना प्रसाईं**ले पनि सहयोग गरेकी छन्। घटनाका दोषीको खोजी र कारबाहीका लागि प्रहरीसँग समन्वय गरेर काम भइरहेको इरफानले बताएका छन्।