काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सामाजिक सञ्जालमा नयाँ बहसको माग तीव्र बन्दै गएको छ। विशेषतः (जेन–जी) युवा पुस्ताले फेसबुक र इन्स्टाग्राममार्फत प्रमुख दलका शीर्ष नेताहरूलाई एउटै मञ्चमा उभ्याएर खुला बहस गराउनुपर्ने आवाज उठाएका छन्। “जनताको सामना गर, बहसमा आऊ” भन्ने सन्देशसहित पोस्ट र स्टोरीहरू व्यापक रूपमा सेयर भइरहेका छन्।
सामाजिक सञ्जालमा चलेको यो अभियानले भावी प्रधानमन्त्रीका दाबेदारका रूपमा चर्चा भइरहेका नेताहरू - केपी शर्मा ओली, गगन थापा र बालेन्द्र शाह (बालेन)लाई प्रत्यक्ष बहसमा आउन आग्रह गरेको छ। युवाहरूको तर्क छ, नीति, नेतृत्व र भविष्यको दिशाबारे स्पष्टता दिन नेताहरूले जनतामाझ खुला बहस गर्नैपर्छ।
अभियानकर्ताहरूका अनुसार चुनावी भाषणभन्दा प्रत्यक्ष बहस लोकतन्त्रलाई बलियो बनाउने माध्यम हो। “सामाजिक सञ्जालको यो दबाब दल र नेताहरूले कत्तिको ग्रहण गर्छन् भन्ने हेर्न बाँकी छ,” उनीहरू भन्छन्।
