काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र सहकारी ठगी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्धको रिट हेर्न अस्वीकार गरेका छन् ।
उनले उक्त मुद्दामा सुनुवाइ गर्न अस्वीकार गरेसँगै बिहीबार उक्त रिट ‘हेर्न नमिल्नेमा’ परेको छ। उक्त रिट सुनुवाइका लागि न्यायाधीशद्वय ढकाल र मनोजकुमार शर्माको संयुक्त इजलासमा पेशी तोकिएको थियो ।
यसअघि लामिछानेको सहकारी ठगीसहित सङ्गठित अपराधको मुद्दामा धरौटीमा छाड्न नमिल्ने भन्दै आदेश दिएका न्यायाधीश ढकालले विवादमा परिने भन्दै उक्त मुद्दा नहेर्ने रिट निवेदकलाई जानकारी दिएका थिए ।
न्यायाधीश ढकालले उक्त मुद्दा नहेरेसँगै अर्को पेशी माघ ११ गतेका लागि तोकिएको छ । रवि जोडिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा महान्यायाधिवक्ताको कार्यालयले फिर्ता लिने निर्णय गरेको थियो ।