हुम्ला । जिल्ला प्रशासन कार्यालय हुम्लाले उच्च हिमाली भेगमा यात्रा नगर्न सर्वसाधारणलाई सचेत गराएको छ। बिहीबार सार्वजनिक गरिएको सूचनामा सम्भावित हिमपातका कारण जोखिम बढ्न सक्ने भन्दै हिमाली क्षेत्रमा आवतजावतबाट टाढा रहन आग्रह गरिएको हो।
प्रशासनका अनुसार जिल्लाको नाम्खा गाउँपालिका–६ अन्तर्गत पर्ने लिमी क्षेत्रका न्यालु लेक, लिमी लाप्चा र नारा लेकतर्फ हाल आवतजावत नगर्न अनुरोध गरिएको छ। मौसम प्रतिकूल हुन सक्ने संकेत देखिएकाले सावधानी अपनाउन भनिएको हो।
जल तथा मौसम विज्ञान विभागले हिमपातको पूर्वानुमानसहित सूचना जारी गरेपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले उच्च सतर्कता अपनाउन अपिल गरेको हो। हिमपातको सम्भावना रहेकाले जोखिम न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन प्रशासनले जोड दिएको छ।