काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जान चार लाखभन्दा धेरै नेपालीले श्रम स्वीकृति लिएका छन् । गएको साउन १ गतेदेखि पुस मसान्तसम्मको अवधिमा कुल चार लाख दुई हजार ७४ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिनेको संख्या तीन लाख ९३ हजार ६७ थियो ।
गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा यसपालि सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या नौ हजार सातले बढी छ । अर्थात्, अघिल्लो आर्थिक वर्षको तुलनामा यसपालि पहिलो ६ महिनामा श्रम स्वीकृति लिनेको संख्या २.२९ प्रतिशतले बढेको छ । विभागले सार्वजनिक गरेको विवरणानुसार, पुसमा ५५ हजार ५४१ पुरुष र सात हजार १८ महिला गरी कुल ६२ हजार ५५९ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । उनीहरूले १०५ देशमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् ।
विभागको तथ्यांकानुसार, ०८२ साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२, असोजमा ६४ हजार ६३४, कात्तिकमा ७३ हजार ९४, मंसिरमा ६५ हजार ७०५ र पुसमा ६२ हजार ५५९ जनाले श्रम स्वीकृति लिएका छन् ।
पुसमा साउदी अरेबिया, कतार, युनाइटेड अरब इमिरेट्स (यूएई), मलेसिया, कुवेत, रोमानिया, जापान, ओमान, बहराइन र क्रोएसिया जान सबैभन्दा धेरैजनाले श्रम स्वीकृति लिएका विभागले जनाएको छ ।
पुसमा साउदी जान १३ हजार ३२९, कतार जान १२ हजार ४६, यूएई जान नौ हजार ५१७, मलेसिया जान आठ हजार ५३२, कुवेत जान चार हजार ३३१, रोमानिया जान दुई हजार १२३, जापान जान एक हजार ६०२, ओमान जान एक हजार ५१६, बहराइन जान एक हजार ७६ र क्रोएसिया जान ९०९ जनाले श्रम स्वीकृति लिएका छन् ।
विभागको तथ्यांकानुसार, आर्थिक वर्ष २०८१/८२ को साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६ र पुसमा ६७ हजार २५८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।