काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । एक समय जित नजिक पुगेको नेपाली टोली नेदरल्यान्ड्सँग २ रनले पराजित भएको छ। लगातार तेस्रो जितसँगै नेदरल्यान्ड्स सुपर सिक्समा पुगेको छ।
१४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा रुबिना क्षेत्री र सीता राना मगर मिलेर १० रन मात्र जोड्न सके ।
त्यसअघि नेपाललाई २४ बलमा ४८ रन आवश्यक हुँदा सीता र रुबिना मिलेर खेललाई अन्तिम ओभरसम्म पुर्याएका थिए । रुबिनाले अविजित ३७ रन, सीता रानामगरले अविजित २७ रन बनाइन् । बिन्दु रावलले १८ रन बनाइन् । नेदरल्यान्ड्सका लागि इसाबेल भान डर वोनिङले ३ विकेट लिइन् । सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाउँदै नेपाललाई १४१ रनको लक्ष्य दिएको थियो।नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् । स्टेर कालिसले ३० रन बनाइन् । रोबिन रिके १९ तथा आइरिस ज्विलिङ १४ रनमा अविजित रहे ।
१५ रनमै २ विकेट गएपछि बाबेट र कालिस मिलेर ७९ रनको साझेदारी गरेका थिए । नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १/१ विकेट लिए । नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो । समूह चरणको तेस्रो खेलमा नेपालले शनिबार जिम्बाव्बेसँग खेल्नेछ।