काठमाडौं । बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप लामिछाने आवद्ध टिम राजशी वारियर्स फाइनल पुगेको छ। तालिकाको शीर्ष स्थानमा रहेर पनि पहिलो क्वालिफायरमा पराजित भएको सन्दीपको टिम दोस्रो क्वालिफायरमा विजयी हुँदै फाइनल पुगेको हो।
पहिलो क्वालिफायरमा चटगाउँ रोयल्सँग ६ विकेटले पराजित भएको वारियर्सले दोस्रो क्वालिफायरमा सिलेट टाइटन्सलाई १२ रनले हराउँदै फाइनल प्रवेश गरेको हो। अब सन्दीपको टिमले फाइनलमा शुक्रबार पहिलो क्वालिफायरमा आमनेसामने भएको टिम चटगाउँसँग प्रतिस्पर्धा गर्नैछ।पहिलो क्वालिफायरको हारको बदला लिएमा वारियर्सले उपाधि उचाल्ने छ।
फाइनल प्रतिस्पर्धा शुक्रबार साँझ ५ः४५ बजे बंगलादेशको मिरपुरमा हुँदैछ। चार खेलमा प्लेइङ ११ मा परेका सन्दीप लामिछानेले ११५ रन खर्चिएर पाँच विकेट हात पारेका छन्। सुरुवातका खेलमा पहिलो रोजाइमा परेका सन्दीप पछिल्ला खेलमा प्लेइङ ११ मा पर्न सकेका छैनन्।