म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता उपलब्ध गराएको हो । नागरिकताका लागि समीरले ११ वर्ष र यास्मिनले आठ वर्षअघि प्रशासनदेखि गृह मन्त्रालयसम्म सबै प्रक्रिया पूरा गरेर आवेदन पेस गरेका थिए ।
नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधनपछि समीर र यास्मिनलाई आमाका नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए ।
समीर र यास्मिनका आमा मनिरजा नेपाली हुन् भने मनिरजाका श्रीमान् सलिम खान भारतको कलकत्ताका हुन् । ३४ वर्षअघि विवाह भए पनि मनिरजाले बेनीमा शृङ्गार व्यवसाय गर्दै आएकी छिन् ।
सलिमले भारतको नागरिकता त्यागिसकेका छन् ।
नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा आएको हो ।
यसअघि पुस २९ गते मालिका गाउँपालिका–५ देविस्थानकी २२ वर्षीया सीमा पुनलाई जिल्लामै पहिलोपटक आमाका नामबाट नागरिकता प्रदान गरिएको थियो ।