काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप २०२६ पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुने स्पष्ट गरेको छ। आईसीसीले विज्ञप्ति जारी गर्दै प्रतियोगिताको तालिका र खेलस्थलमा कुनै परिवर्तन नहुने जनाएको हो।
बुधबार भर्चुअल रूपमा बसेको आईसीसी बोर्ड बैठकले यो निर्णय गरेको हो। बंगलादेश क्रिकेट बोर्ड ले आफ्ना खेल भारतबाट सारेर श्रीलंकामा गराउन आग्रह गरेपछि बैठक बोलाइएको थियो। तर आईसीसीले सुरक्षा मूल्यांकनको समीक्षा गर्दा भारतका खेलस्थलमा बंगलादेशी खेलाडी, अधिकारी, सञ्चारकर्मी तथा समर्थकलाई कुनै जोखिम नदेखिएको निष्कर्ष निकालेको छ।
आईसीसीका अनुसार प्रतियोगिताको अत्यन्त नजिकको समयमा तालिका परिवर्तन गर्नु व्यवहारिक नहुने र त्यसले अन्य टोली, समर्थक तथा प्रतियोगिताको निष्पक्षतामा असर पार्नेछ। सुरक्षा मूल्यांकन, आयोजकको सुनिश्चितता र सबै सहभागी राष्ट्रमा समान रूपमा लागू हुने नियमका आधारमा नै तालिका तय गरिएको आईसीसीको भनाइ छ।
आईसीसीले विश्व क्रिकेटको साझा हित, निष्पक्षता र खेलको गरिमा जोगाउन आफू प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ।