काठमाडौँ - मलेसियास्थित विद्युतीय सामग्री उत्पादन गर्ने वेस्टर्न कम्पनीले नेपालबाट ८ सय जना श्रमिकलाई कुनै पनि व्यक्तिगत खर्च नलाग्ने गरी रोजगारीमा लैजाने भएको छ। तीमध्ये ६ सय जना महिला श्रमिक रहनेछन्।
कम्पनीले आकर्षण इन्टरनेशनल म्यानपावर र लालधनुष म्यानपावरमार्फत श्रमिक भर्ना गर्न लागेको हो। दुवै म्यानपावर कम्पनीले चार-चार सय जनाको जिम्मेवारी लिएका छन्।
वेस्टर्न कम्पनी, आकर्षण र लालधनुष म्यानपावरले संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा शून्य लागतमा श्रमिक लैजाने प्रक्रियाबारे जानकारी दिइएको हो। मलेसिया जाने श्रमिकको राहदानी, बीमा, हवाई टिकट, सामाजिक सुरक्षा कोष, कल्याणकारी कोष, काठमाडौं बसाइ खर्च तथा घरदेखि काठमाडौंसम्मको यातायात खर्चसमेत रोजगारदाता कम्पनीले नै व्यहोर्ने जनाइएको छ।
कम्पनीका प्रतिनिधि एडसनले यसअघि नेपालबाट गएका श्रमिकको कामप्रति सन्तुष्टि जनाउँदै थप श्रमिक भर्ना गर्न लागिएको बताए। उनका अनुसार यो नेपालबाट श्रमिक लिने दोस्रो चरण हो। म्यानपावर कम्पनीहरूले शून्य लागतको नीति व्यवहारमै लागू गरिरहेको देख्दा कम्पनी उत्साहित भएको उनले बताए।
आकर्षण इन्टरनेशनल म्यानपावरका अध्यक्ष विष्णु केसीले आफ्नो कम्पनीले लामो समयदेखि नैतिक भर्ना प्रणाली अपनाउँदै आएको बताए। यही कारण रोजगारदाता कम्पनी पुनः नेपाल आएको उनको भनाइ छ। यसअघि सन् २०२२ मा यही कम्पनीमार्फत ३ सय नेपाली श्रमिक मलेसिया गएको उनले जानकारी दिए। हाल हजारौँ इच्छुकले आवेदन दिएको र अन्तर्वार्ता प्रक्रिया जारी रहेको पनि उनले बताए।
लालधनुष म्यानपावरकी निर्देशक निमा शेर्पाले श्रमिकको अधिकार र मर्यादालाई केन्द्रमा राखेर विदेश रोजगारीमा पठाउने कार्य गर्दै आएको बताइन्। उनका अनुसार नैतिक भर्ना केवल नारा नभई श्रमिकप्रतिको उत्तरदायित्व हो।
नेपाल र मलेसियाबीच २०७५ सालमा श्रमिकलाई शून्य लागतमा रोजगारीमा लैजाने विषयमा श्रम सम्झौता भएको थियो, जसअनुसार यो प्रक्रिया अघि बढाइएको हो।