काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले अमेरिकामा यात्रा गर्ने नेपाली नागरिकसहित अन्तर्राष्ट्रिय आगन्तुकहरूलाई बसाइँको अवधिबारे महत्वपूर्ण जानकारी सार्वजनिक गरेको छ।
दूतावासका अनुसार अमेरिकामा आगमन गर्दा भन्सार तथा सीमा सुरक्षाअधिकारीले जारी गर्ने आई ९४ फारममा उल्लेख गरिएको भर्ना मितिले निर्धारण गर्ने जनाएको छ ।
दूतावासले धेरै यात्रुहरू भिसाको म्याद हेरेर मात्र अमेरिकामा बस्न मिल्ने समय अनुमान गर्ने गरेको पाइएकाले यस विषयमा स्पष्ट पारेको हो । आई ९४ फारममा उल्लेख गरिएको मितिभन्दा बढी समय अमेरिकामा बस्नुलाई “ओभरस्टे” मानिन्छ। ओभरस्टे भएको खण्डमा भिसा स्वतः रद्द हुन सक्ने, देश निकाला हुन सक्ने तथा भविष्यमा अमेरिकी भिसा प्राप्त गर्न अयोग्य ठहरिने गम्भीर परिणाम भोग्नुपर्ने दूतावासले जनाएको छ ।
त्यसैले दूतावासले अमेरिकामा प्रवेश गरेपछि सबै यात्रुहरूले अनिवार्य रूपमा आफ्नो आई ९४ फारम जाँच गर्न आग्रह गरेको छ।
