काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गोर्खा मिडिया नेटवर्कमार्फत भएको सहकारी ठगी प्रकरणमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिने महान्यायाधिवक्ता सबिता भण्डारीको निर्णय सरकारले समीक्षा गर्ने बताएका छन्।
मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्यालले यस विषयमा सरकारभित्र छलफल चलिरहेको र सार्वजनिक रूपमा आएका समाचारप्रति सरकारको ध्यान गएको बताए।
गोर्खा मिडिया नेटवर्क प्रकरणमा पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी र गोर्खा मिडियाका अध्यक्ष जीबी राईसहितलाई प्रतिवादी बनाएर काठमाडौंसहित विभिन्न अदालतमा मुद्दा दायर भएका छन्। ती सबै मुद्दा अहिले अदालतमा विचाराधीन छन्।
यही मुद्दामा अभियोगपत्र संशोधन गर्दै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिने निर्णय महान्यायाधिवक्ताले गरेपछि चौतर्फी विरोध भइरहेको छ।
त्यही विवादबीच गृहमन्त्री अर्यालले उक्त निर्णयबारे सरकारको तर्फबाट समीक्षा हुने स्पष्ट पारेका हुन्।