महेन्द्रनगर । नेपाली कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको पुत्ला कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–३ मा जलाइएको छ। पूर्वगृहमन्त्री रमेश लेखकलाई टिकट नदिएको विरोधमा उनका समर्थकहरूले पुत्ला दहन गरेका हुन्।
नेपाली कांग्रेसले कञ्चनपुर–३ बाट यसपटक रमेश लेखकलाई टिकट नदिई हरि बोहरालाई उम्मेदवार बनाएको छ। यही निर्णयको विरोधमा कांग्रेस कार्यकर्ताहरू आन्दोलित बनेका छन्।
लेखक यस क्षेत्रबाट २०५६, २०७० र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भइसकेका छन्। उनी कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्रका रूपमा चिनिन्छन्।
तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लामा कांग्रेसले क्षेत्र नम्बर–१ बाट क्षेत्रीय सभापति गोपी उपाध्याय र क्षेत्र नम्बर–२ बाट पूर्व मन्त्री एनपी साउँदलाई उम्मेदवार बनाएको छ।