काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ ।
निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको हो ।
आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारलाई आग्रह गरेको छ।
आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ । भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले प्रष्ट पारेको छ ।
आयोगले यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १६५ निर्वाचित हुने व्यवस्था छ ।