काठमाडौँ । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायर छनोटको पहिलो खेलमा नेपालले पराजय बेहोरेको छ । कीर्तिपुरस्थित, त्रिवि मैदानमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ८ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय २३ रनको लक्ष्य थाइल्याण्डले १६.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । उसका लागि नथ्थकन चान्थमले अविजित ५७, नान्नापत कोन्चारोएनकाईले ३२ र अपिसारा सुवान्चोनरथले २८ रनको योगदान दिइन् ।
नेपालका लागि सीता राना मगरले २ विकेट लिइन् । आजको खेलसँगै नेपालले थाइल्याण्डसँग लगातार आठौँ खेलमा पराजय बेहोरेको छ । प्रतियोगितामा नेपालले अर्को खेल अब २२ जनवरीमा नेदरल्याण्ड्सविरुद्ध खेल्नेछ ।