काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ । उक्त प्रतियोगिता नेपालले आयोजना गरेको हालसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता हो ।
१० देश सहभागी प्रतियोगिताको शीर्ष ४ मा पर्ने टोलीले आगामी जुन–जुलाईमा हुने महिला टी-२० विश्वकपमा स्थान बनाउनेछन् । पहिलो पटक एसिया क्षेत्र छनोट चरण पार गरेको नेपाललाई घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा पुग्ने स्वर्णिम अवसर छ।
वरियतामा आफूभन्दा माथि रहेका र विश्वकप खेलिसकेका देशहरूलाई पन्छाउँदै विश्वकप पुग्न भने नेपाललाई सहज हुने छैन । नेपाल पहिलो पटक विदेशी प्रशिक्षकको प्रशिक्षणमा मैदानमा उत्रिनेछ ।
नेपाल क्रिकेट संघ क्यानले यस प्रतियोगिताभन्दा अघि भारतीय प्रशिक्षक हर्षल पाठकलाई मुख्य प्रशिक्षकको रूपमा भित्राएको थियो । विदेशी प्रशिक्षकको एडभान्चेड पनि नेपाललाई हुनेछ ।
प्रतियोगितामा आयोजक नेपाल समूह ‘बी’मा छ । उक्त समूहमा नेपालसहित स्कटल्याण्ड, थाइल्याण्ड, जिम्बाब्बे र नेदरल्याण्ड्स छन् । समूह ‘ए’ मा बंगलादेश, आयरल्याण्ड, पिएनजी, नामिबिया र अमेरिका छन् । दुवै समूहबाट शीर्ष-३ मा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सबाट शीर्ष-४ मा रहने टोलीले विश्वकपमा स्थान पक्का गर्नेछ ।
नेपालले पहिलो खेल आइतबार थाइल्याण्डसँग खेल्नेछ । उक्त खेल टीयु क्रिकेट मैदानमा हुनेछ । नेपालले दोस्रो खेल बिहीबार नेदरल्याण्ड्स, तेस्रो खेल शनिबार जिम्बाब्बे र चौथो खेल अर्को मंगलबार स्कल्याण्डसँग खेल्नेछ । नेपालका सबै खेल टीयु मैदानमा हुनेछ ।
प्रतियोगितामा समूह चरणका खेलसम्म दैनिक ४ खेल हुने तालिका छ । दुई खेल टीयु र दुई खेल माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ । सुपर सिक्सका खेलहरू दैनिक ३ वटा हुनेछन् ।